काठमाठौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकोणात्मक सिरिजमा नेपालले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् ।
उनले घरेलु भुमिमा आयोजना भएको टी–ट्वान्टी सिरिजमा नेपालको प्रर्दशन अहिलेसम्मकै उत्कृष्ट मध्यको एक रहेको बताए ।
उनले प्रतियोगिताभर नेपालले गरेको प्रदर्शनबाट आफु धेरै खुसी रहेको बताए । कप्तान मल्लले प्रतियोगितामा नेपाली खेलाडीले सकारात्मक क्रिकेट खेलेको बताए ।
‘प्रतियोगिताको उपाधि जित्दा खुसी भैहालिन्छ । तर, यो भन्दा पनि बढी प्रतियोगिताभर टिमको प्रदर्शन देखेर खुसी छु ।’ मल्लले भने, ‘हामीले फरक क्रिकेटका साथ सकारात्मक सोच लिएर क्रिकेट खेलेका छौं । विकेटले पनि साथ दिएको हुन सक्छ । तर, पहिलेभन्दा उत्कृष्ट ब्याटिङ र फिल्डिङमा पनि सकारात्मक अभिप्रायका साथ खेल्यौं ।’
उनले टोलीमा रहेका युवा खेलाडीले आफुलाई प्रमाणित गरेको बताए ।
युवा खेलाडीको प्रदर्शन र घरेलु मैदानमा जितेको ट्रफीले भविष्यका लागि नेपाली क्रिकेटबारे राम्रो सन्देश जाने बताए ।
‘यो प्रदर्शन र ट्रफीले भविष्यको लागि नेपाली क्रिकेटको बारेमा राम्रो सन्देश जानेछ ।’ उनले भने, ‘युवा खेलाडीले राम्रोसँग प्रशिक्षण पाएमा नेपाली क्रिकेटलाई अर्को उचाईमा पुर्याउन सक्नेछन् ।’
उनले कप्तानको रूपमा खेल जित्नु र सम्पुर्ण टिमको प्रदर्शन कप्तानको लागि सधै खुसीको विषय हुने बताए ।
मल्लले घरेलु मैदानमा गरेको प्रदर्शनले खेलाडीमा आत्मविश्वास बढ्ने र अन्य प्रतिस्पर्धात्मक खेलमा जित प्राप्त गर्न सक्ने धारणा राखे । युवा खेलाडीले आफुले पाएको अवसरलाई सहि सदुपयोग गरेको उनले बताए ।
मुख्य प्रशिक्षक डेभ वटमोरले आफ्ना खेलाडीको प्रदर्शन देखेर चकित भएको बताए । यसअघिका खेलबाट खेलाडीले आफ्नो उत्कृष्ट खेल बचाएर राखेको महसुश गराएको प्रशिक्षक वाटमोरले उल्लेख गरे ।
उनले भने, ‘युवा खेलाडी सहित सबै खेलाडीले एकदम राम्रो खेले । उनीहरू ठूलो खेलको लागि पनि तयार छन् । नेदरल्यान्ड्स पनि राम्रो टिम हो । त, यो क्रिकेट हो, कहिले काही यस्तो हुन्छ ।’
प्रतियोगितामा म्यान अफ दि सिरिज बनेका कुशल भुर्तेलले घरेलु मैदानमा लामो समयपछि ट्रफी जित्दा खुसी भएको बताए ।
उनले प्रतियोगिताका लागि आफुहरु पहिलेनै तयार रहेकाले सिरिजमा सहज भएको बताए ।
उनले टोलीमा राम्रा फिनिसर रहेकाले आफ्नो सोच राम्रो सुरुवात गर्नु रहेको बताए । उनले आफुलाई विश्वास गरेकोमा प्रशिक्षक र कप्तानलाई धन्यवाद दिए ।
याे पनि,
नेदरल्यान्ड्सलाई हराउँदै नेपाल च्याम्पियन