एजेन्सी । घरेलु टिम जिम्बावेले दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ ।
हरारेमा शुक्रबार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई १९ रनले हराएको हो ।
जिम्बावेले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ५ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४१ रन बनाए । यस्तै डानिस अजिजले २२ रन जोड्दा मोहमद रिजवानले १३ रन बनाए ।
जिम्बावेका लुक जुङ्वेले सर्वाधिक ४ विकेट लिए । रायन ब्रुलले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो ।
जिम्बावेका लागि तिनाशे कामुनहुकाम्वेले ३५ रन जोड्दा रेगिस चाकबभाले १८ रन बनाए ।
पाकिस्तानका मोहमद हसनेन र डानिस अजिजले २/२ विकेट लिए ।
यस जितसँगै जिम्बावेले ३ खेलको सिरिजमा १-१ को बराबरी बनाएको छ ।
यस अघि पहिलो खेलमा पाकिस्तान ११ रनले विजयी भएको थियो ।