काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनिर सन्दीप लामिछानेले १०० औं टी-ट्वान्टी खेलको आँकडा पूरा गरेका छन् ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज क्रिकेट अन्तर्गत मलेसियाविरुद्ध मैदान उत्रिदै सन्दीपले यस आँकडा पूरा गरेका हुन् ।
सन्दीप टी-ट्वान्टीमा १०० खेल खेल्ने नेपालका पहिलो खेलाडी समेत बनेका छन् । यससँगै उनले टी-ट्वान्टी अन्तर्राष्ट्रियका २५ खेल खेलेका छन् भने अन्य विश्वभरीका टी-ट्वान्टीका ७५ खेल खेलेका छन् ।
सन्दीपले टी-ट्वान्टी अन्तर्राष्ट्रियका २४ खेलमा ४२ विकेट लिएका छन् । त्यस्तै अन्य टी– ट्वान्टी खेलमा ९१ विकेट लिएका छन् ।
काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा सन्दीपले अहिलेसम्म ३ खेलमा ८ विकेट लिएका छन् । पहिलो खेलमा नेदरल्याण्ड्ससंग २ विकेट लिएका उनले मलेसियाविरुद्ध २ र नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा ४ विकेट लिएका थिए ।
सन्दीपले वेष्ट इन्डिजविरुद्ध वर्ल्ड ११ का लागि खेल्दै ३१ मे २०१८ मा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
यस्तै उनले त्यसअघि १२ मे २०१८ मा तात्कालिन दिल्ली डेभरडेभिल्सका लागि रोएल च्यालेन्जर्सविरुद्ध खेल्दै टी२० मा डेब्यु गरेका थिए ।