काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्स र मलेसियाको खेल बराबरीमा सकिएको छ ।
टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित बनाएको रोमान्चक खेल बराबरी भएको हो ।
बराबरीसँगै नेदरल्यान्ड्स र मलेसियाले १/१ अंक पाएको छ ।
वर्षाले पटक पटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।
तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुन: खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल 'टाइ' भएको थियो ।
मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए ।
भिरनदीप सिंह १४ रनमा आउट भए । नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए ।
यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । तर, डीएल पद्दतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य लक्ष्य पाएको थियो ।
नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान पिटर सेलारले ३७ रन जोडे । टोबीआस भिसी र बास डी लिडी सुन्य रनमा आउट भए ।
एन्टोनीयस स्टाल १० रनमा अविजित रहे ।
मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १/१ विकेट लिए ।
यस खेलको नतिजासँगै नेदरल्यान्ड्स र नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसिया भने बाहिरिएको छ ।
नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा समेत उक्लिएको छ ।
३ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।
३ खेलमा १ अंक जोडेको मलेसिया पुछारमा रहेको छ ।
अब लिगको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्ने छन् ।
उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ ।
मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ ।
नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ ।
मलेसियालाई हार र जितले फरक पार्ने छैन ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने तालिका रहेको छ ।