काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।
वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।
नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ ।
नेदरल्यान्ड्सले डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो ।
तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुन: खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।
९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल 'टाइ' भएको थियो ।
यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । तर, डीएल पद्दतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य पाएको थियो ।
यस बराबरीसँगै नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा समेत उक्लिएको छ ।
३ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ ।
३ खेलमा १ अंक जोडेको मलेसिया पुछारमा रहेको छ ।
अब लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया भिड्ने छन् ।
उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ ।
मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ ।
नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ ।
मलेसियालाई हार र जितले फरक पार्ने छैन ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने तालिका रहेको छ ।