काठमाडौं । नेपालका युवा खेलाडी कुशल भुर्तेल पहिलो पटक आईसीसीको टी-ट्वान्टी वरीयतामा पर्न सफल भएका छन् ।
घरेलु भूमिमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा कुशल ९३ औं स्थानमा रहेका छन् ।
नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजको तीन खेलमा कुशलले लगातार अर्धशतक बनाएका थिए ।
डेब्युपछि लगातार तीन टी-ट्वान्टी अन्तराष्ट्रियमा खेलमा अर्धशतक बनाउने कुशल पहिलो खेलाडी समेत हुन् ।
नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता भने घटेको छ । पारस ८२ औं स्थानमा रहेका छन् ।
पारस चोटका कारण सिरिज बाहिर रहेका छन् ।
बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा उक्लिएका छन् ।