एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुदमा क्रिकेट खेल समावेश हुने सम्भावना बढेको छ ।
ओलम्पिकमा क्रिकेट सामेल गराउन अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पहल थालेको छ ।
आईसीसीले टी-१० फर्म्याटको क्रिकेट ओलम्पिकमा समावेश गराउने योजना बनाएको छ ।
आईसीसीको बोर्ड बैठकमा भारतीय क्रिकेट बोर्ड बीसीसीआई र इंग्ल्यान्ड क्रिकेट बोर्डले समेत समर्थन जनाएको बताईएको छ ।
बीसीसीआई ओलम्पिकमा क्रिकेट समावेश गराउने विषयको विपक्षमा रहदै आएको थियो ।
तर, क्रिकेटलाई थप विकास र बिस्तारको लागि ओलम्पिकमा सहभागिता गराउने पक्षमा बीसीसीआई रहेको बताईएको छ ।
पछिल्लो पटक सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट समावेश गरिएको थियो । त्यसपछि ओलम्पिकमा क्रिकेट समावेश गरिएको छैन ।
यस वर्षको ओलम्पिक जापानमा आयोजना हुँदैछ ।
कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।