काठमाडौं । कुशल भुर्तेलको कीर्तिमानी अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेदरल्यान्ड्सलाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको हो ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।
नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुबैले ७८ रनको साझेदारी गरे । ओपनर कुशलले ४६ बलमा ८ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए ।
नेदरल्यान्ड्सलेविरुद्ध नै टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका कुशलको यो लगातार तेस्रो अर्धशतक हो । यस अर्धशतकसँगै उनी टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्युसँगै लगातार तीन अर्धशतक बनाउने विश्वका पहिलो खेलाडी बनेका छन् ।
यसअघि उनले नेदरल्यान्ड्सविरुद्ध डेब्यु खेलमा ६२ र मलेसियासँग आफ्नो करियरको दोस्रो खेलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
त्यस्तै दिपेन्द्रले ६० रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । उनी पिटर सिलारको बलमा टोविया भिसीको हातबाट क्याच आउट हुन पुगे ।
नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ सेखलाई शुन्य रनमा गुमाएको थियो । उनी विविअन किंगमाको बलमा लामो सट खेल्ने चक्करमा लङअनमा रहेका बेन कुपरले क्याच गर्दै पेभिलियन फर्किएका थिए ।
नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । उनी पिटर सिलारले गरेको सातौ ओभरको अन्तिम बलमा कुपरले क्याच गर्दै मल्ललाई पेभिलियन फर्काएका थिए । उनले १४ बलमा २ चौका र एक छक्का प्रहार गर्दै २० रनको योगदान दिए ।
पाँचौ विकेटको रुपमा कुशल मल्ल पेभिलियन फर्किए । उनी आर्यन दत्तको बलमा मीकेरेनले क्याच गरेका थिए । कुशलले ७ बलमा ३ छक्कासहित १८ रनको योगदान दिए ।
छैटौं विकेटको रुपमा करण केसी एक रनमा आउट भए । सोमपाल कामी २१ रनमा अविजित रहे । उनले १३ बलमा १ चौका र एक छक्का प्रहार गरे । त्यस्तै विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारी ७ रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किंगमाले समान २/२ विकेट लिए । त्यस्तै बास दे लीड, आर्यन दत्तले १/१ विकेट लिए ।
आज नेदरल्यान्ड्समाथि जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
सिरिजको दुई खेलमा नेपाल अपराजित रहेको छ । नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ ।
नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल नेदरल्यान्ड्सलाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ ।
नेदरल्यान्ड्स पनि नेपाललाई हराएर फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।
दुई खेक गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगाबै फाइनल पुग्ने समीकरण रहेको छ ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई सहजै ९ विकेटले हराएको नेपाल दोस्रो भेटमा पनि त्यहिँ नतिजा निकाल्ने योजनामा रहेको छ ।
तर, बलियो टिम नेदरल्यान्ड्सविरुद्ध नेपाललाई सहज भने हुने छैन ।
कोरोना भाईरसको महामारीको कारण दर्शकलाई निषेध गरिएको छ । दर्शक बिना मैदान उत्रदा नेपाललाई केहि घाटा भने हुनेछ ।
पहिलो खेलमा नेपालसँग स्तब्ध भएको नेदरल्यान्ड्सले दोस्रो खेलमा मलेसियामाथि जित निकालेको थियो ।
म्याक्सले शतक बनाएपछि नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको हो ।