काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि १ सय १० रनको सामान्य लक्ष्य दिएको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो ।
खराब सुरुवात गरेको मलेसियाले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट गुमाएको थियो । करण केसीको बलमा विनोद भण्डारीले क्याच गर्दै अनवर अरुदिनलाई ८ रनमा पेभिलियन फर्काएका थिए ।
त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी चौथो ओभरको दोस्रो बलमा टोलीको ३४ रन हुँदा ३ रनमा मैदानबाट बाहिरिए । उनी आफै गल्तिका कारण रन आउट हुन पुगे ।
तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंहलाई गुमायो । ११ बलमा १ चौका प्रहार गरेर ६ रनमा खेलिरहेका उनी सोमपालको बलमा बोल्ड हुन पुगे । सातौ ओभरको अन्तिम बलमा विरन्दीपले स्लीप खेल्ने क्रममा बल सोझै विकेटमा लागेको थियो ।
चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिजलाई गुमायो । एक तिरबार विकेटको पतन भइरहेका बेला अर्को क्रिजमा डटेर मलेसियाको इनिङ्स सम्हालिरहेका उनी दिपेन्द्र सिंह ऐरीले गरेको आठौं ओभरको पाँचौ बलमा आउट भए ।
उनी रिभर सुइप खेल्ने चक्करमा आसिफ शेखको हातबाट क्याच आउट हुन पुगेका थिए । अजिजले मलेसियाका लागि २७ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
पाँचौ विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान शाफिक शारिफ पेभिलियन फर्किए । उनी लामो सट खेल्ने धुनमा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भएका थिए । उनले १३ बलमा एक चौका र छक्का प्रहार गर्दै १५ रन जोडे । त्यसपछि अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । उनले १५ बलमा एक छक्कासहित २० रन जोडेका थिए ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएका हुन् ।
त्यस्तै सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १/१ विकेट लिए ।