काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेपालका कुशल भुर्तेल 'प्लेयर अफ दी म्याच' चुनिएका छन् ।
डेब्यु खेलमा शानदार अर्धशतक सहित नेपाललाई जित दिलाएका कुशल 'प्लेयर अफ दी म्याच' चुनिएका हुन् ।
कुशलले राष्ट्रिय टिमबाट डेब्यु गर्दै अर्धशतक प्रहार गरेका थिए ।
उनले ३० बलमा ५ चौका र ६ छक्काको मदतले ६२ रन बनाए । यसअघि यूएईविरुद्ध टी–ट्वान्टी सिरिजको पहिलो खेलमा सन्दीप जोराले डेब्यु अर्धशतक बनाएका थिए ।
कुशलले पहिलो विकेटका लागि आसिफ शेखसंग मिलेर कीर्तिमान साझेदारी गरे । दुवैले पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे । योनै पहिलो विकेटका लागि नेपालले टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक साझेदारी हो ।
१३ औं सागको दौरानमा त्रिवि मैदानमा भुटानविरुद्ध नेपालका ज्ञानेन्द्र मल्ल र पारस खड्काले पहिलो विकेटका लागि १ सय ८ रनको साझेदारी गरेका थिए ।
आसिफले पनि कुशलसंगै डेब्यु खेलमा अर्धशतक पुरा गरे ।
कुशल र आसिफको कीर्तिमानी साझेदारी र अर्धशतकको मदतले नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ । जितसंगै नेपाल सिरिजको फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।