काठमाडौं । आशिफ शेख, कुशल भुर्तेल र शाहब आलमले टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलबाट ओपनर ब्याट्सम्यान आशिफ, अलराउण्डर कुशल र स्पिनर शाहबले डेब्यु गरेका हुन ।
पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएपछी उनीहरुले राष्ट्रिय टिममा स्थान बनाएका थिए ।
नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा सुखद सुरुवात गरेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्दा कुशल र आसिफले अर्धशतकीय इनिङ्स खेलेका हुन् ।
कुशलले ३० बलमा ५ चौका र ४ अर्धशतको मद्दतमा डेब्यु अर्धशतक पूरा गरे । आसिफले ३६ बलमा समान ४–४ चौका र छक्काको मद्दतमा डेब्यु अर्धशतक पूरा गरे ।
यसअघि यूएईविरुद्ध टी–ट्वान्टी सिरिजको पहिलो खेलमा सन्दीप जोराले डेब्यु अर्धशतक बनाएका थिए । उनले यूएईविरुद्ध ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय इनिङस खेलेका थिए ।