काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज आजबाट सुरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् । आयोजक नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
सिरिजको उद्घाटन खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । तर, नेपाली टिममा पूर्व कप्तान पारस खड्का हुने छैनन । चोटका कारण पारस सिरिज बाहिर रहेका छन् ।
नेदरल्याड्स पिटर सीलारको कप्तानीमा मैदान उत्रने छ । बलियो टिम नेदरल्यान्ड्स नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।
नेपाल र नेदरल्यान्ड्स - हेड टु हेड
नेपालको लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्दी हो । नेपालले सर्वाधिक टी-ट्वान्टी नेदरल्यान्ड्सविरुद्ध खेलेको छ ।
यस सिरिजमा दुवै टोली उपाधि दाबेदार हुन् । एसोसिएट राष्ट्रको एक बलियो टोली नेदरल्यान्ड्सलाई घरेलु भूमिमा हराउनु नेपाललाई ठुलो चुनौती छ । यस्तै नेदरल्यान्ड्सलाई समेत नेपाली समर्थकसामु खेल्न सहज हुने छैन ।
हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी-ट्वान्टी खेल खेलेको छ । जसमा ६ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । नेपालले कुनैपनि राष्ट्रसँग खेलेको यो खेल सर्वाधिक हो ।
नेपालले ८ खेल मध्य जम्मा दुई टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी ट्वान्टी र तीन अन्तरष्ट्रियमा जित निकालेको छ ।
नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट सन् २०१२ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा भएको थियो । सो खेलमा नेपालले मात्र ८५ रन बनाउँदा नेदरल्यान्ड्सले ६ विकेटको सहज जित निकालेको थियो ।
सन् २०१३ मा पुनः विश्वकप छनोटमा समेत नेपाल १ सय ७ रन जोड्दा नेदरल्यान्ड्सले ५ विकेटको जित हात पार्यो ।
दुवै राष्ट्रको पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय खेल सन् २०१५ मा भएको थियो । सन् २०१४ मा टी ट्वान्टी विश्वकप खेलेपछि पाएको एतिहासिक टी–ट्वान्टी मान्यतापछि नेपाल नेदरल्यान्ड्स भ्रमणमा निस्किएको थियो । चार खेलको भ्रमण सिरिजमा नेपालले मात्र १ खेलमा जित हात पार्यो, जुन नेपालले नेदरल्यान्ड्समाथि पहिलो पटक जित दर्ता गर्न सफल भयो ।
पहिलो खेलमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १ सय १६ रन बनाउन सक्यो । दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोर्यो । १ सय ७२ रनको ठुलो लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र ६९ रनमा समेटियो ।
नेदरल्यान्ड्सविरुद्ध नेपालले बनाएको यो नै सबै भन्दा कम रन हो । तेस्रो खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ सय ३१ रन बनायो ।
अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई पहिलो पटक पराजित गर्न सफल भयो । १ सय ४० रन पछ्याएको नेपालले २ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
सन् २०१८ को इंग्ल्यान्ड भ्रमणमा नेपालले नेदरल्यान्ड्स र मेरिलिबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक सिरिज खेल्यो । जसमा नेपाल र नेदरल्यान्ड्स बीचको खेल वर्षाले प्रभावित भयो ।
यस्तै, नेपाल र नेदरल्यान्ड्सको अन्तिम भेट ओमानमा भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिजमा भएको थियो । जुन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो ।
नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल तथ्य -
सर्वाधिक रन बनाउने नेपाली खेलाडी : पारस खड्का (७ इनिङमा १७६ रन)
एक इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी : पारस खड्का (५४ रन)
सर्वाधिक स्ट्राइक रेट : करण केसी (१२८.५७)
सर्वाधिक विकेट लिने नेपाली खेलाडी : बसन्त रेग्मी (७ इनिङमा १२ विकेट)
बेस्ट बलिङ फिगर : करण केसी (१७ रन खर्चेर ४ विकेट)
यो पनि पढ्नुहोस् -
नेदरल्यान्ड्स - नेपालको प्रिय प्रतिद्वन्दी