काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा कम दर्शकलाई टियु क्रिकेट मैदानमा प्रवेश गराउने भएको छ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै क्यानले टियु मैदानको क्षमता भन्दा कम दर्शकलाई प्रवेश दिने भएको हो ।
क्यानका जनरल म्यानेजर रौनक मल्लले सरकारको कोरोना प्रोटोकललाई ध्यानमा राखेर कम दर्शकलाई अनुमति दिने निर्णय गरेको बताए ।
'हामीले पहिले योजना बनाएको भन्दा कमलाई प्रवेश गर्न दिने छौँ । पहिलाको जस्तो भिड हुने छैन । कोरोना प्रोटोकल पालना गर्ने छौँ,' मल्लले भने ।
मल्लले टिकट अनलाइनबाट मात्र बिक्री गरिने बताए । क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखेको छ ।
यस्तै मल्लले प्रतियोगिता दौरान सरकारको प्रोटोकल पूर्ण रुपमा पालना हुने बताए ।
'कोरोनाको समय अन्तराष्ट्रिय प्रतियोगिता गर्नु आफैमा चुनौती छ । सबैको साथ सहयोगले हामी प्रतियोगिता आयोजना गर्न गईरहेका छौँ,' उनले भने, 'सबै प्रोटोकल अपनाएका छौ । बसलाई पनि सेनिटाइज गरेका छौँ । सबै देशका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।'
स्वास्थ्य मन्त्रालयले बिहीबार मात्र खेलकुद लगायतका कार्यक्रममा भिड नगर्न अपिल गरेको थियो ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग भोलि (शनिबार) खेल्नेछ । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।