काठमाडौं । उमेरले मात्र १७ वर्ष पुगेकी सृष्टि खड्गीको उचाई ५ दशमलव ८ इन्च छ । उनी पारामाउन्ट स्कुल तथा विभागीय टिम त्रिभुवन आर्मीकी खेलाडी हुन् ।
राम्रो खेल देखेर प्रशिक्षक कपिल किशोर श्रेष्ठले उनलाई आर्मीमा बोलाएका थिए ।
उनको सानै देखिको इच्छापनि आर्मी नै बन्ने थियो । जसका कारण उनले आर्मीको प्रस्तावलाई सहजै स्वीकारिन् ।
पारामाउन्ट स्कुलबाट आर्मीसँग जोडिएको दुई वर्षमै उनले विभागीय टिमको सेटमा आफुलाई स्थापित गरेकी छिन् ।
उनले पाँचौं एनभीए लिगबाट आर्मीको सेटमा डेब्यु गर्दै विभागीय टिमको एक आशलाग्दो खेलाडीको रुपमा देखिएकी छिन् ।
भलिबलको यात्रा
सृष्टि कान्छी सन्तानको रुपमा २०६० साल मंसिर २४ गते बुवा राजेश बहादुर खड्गी र आमा धनकमलको कोखबाट जन्म लिईन् ।
पाटन घर भएकी सृष्टि हाल स्वयम्भुमा बस्छिन् । उनको परिवारमा आमा, बुवा, दाई र भाउजु छन् ।
खेलकुदमा परिवारको साथ र सहयोग पाएकी सृष्टिले १३ वर्षको उमेरबाट भलिबल खेल्न सुरु गरेकी हुन् ।
‘सुरुमा त भलिबल हानेर खेल्ने हो भन्ने बाहेक अरु केही कुरा पनि थाहा थिएन ।’ खेलपाटीसंगको संवादमा सृष्टिले भनिन् ।
उनी पारामाउन्ट स्कुलकी उत्पादन हुन् ।
स्कुलमा हुदाँ शिक्षकले भलिबल खेल्ने विद्यार्थीको नाम टिपेका थिए । तर उनले भलिबलको बारेमा धेरै नबुझेकाले नाम टिपाईनन् । तर अरुले ट्रेनिङ गरेको देख्दा रमाइलो लाग्यो । त्यसपछि उनीपनि ट्रेनिङमा सहभागी हुन थालिन् ।
उनको ट्रेनिङ प्राय स्कुल बिदा भएको बेलामा हुन्थ्यो । त्यसबाहेक शनिबार तथा स्कुल छुट्टी भएपछि ड्रेसमा अभ्यास गर्थिन् ।
‘सुरुमा त भलिबल भनेको नै थाहा थिएन । त्यति राम्ररी बुझेको पनि थिइन । ट्रेनिङ स्कुल बिदा भएको बेलामा, शनिबार अनि स्कुल छुट्टी भएपछि ड्रेसमा नै खेल्थ्यौ । दिउँसो घाममा पनि खेल्थ्यौ । कस्तो खेल भनेर बुझेको थिइन । सुरुमा त चप्पल लगाएर खेल्न आएको थिए ।’ उनले हाँस्दै भनिन् ।
उनले ट्रेनिङ गर्दा खेलबारे बुझ्ने मौका पाईन् । ट्रेनिङ गर्दा गुरुले प्रोत्साहन गर्थे । अझ मेहनत गरेर खेल्ने वातावरण पाएको उनी सम्झिन्छिन् ।
सृष्टिले विद्यालयस्तरीय प्रतियोगिताहरु धेरै खेलेकी छिन् ।
उनलाई खेलमा लाग्न घरपरिवारबाट पनि उत्तिकै साथ र सहयोग रह्यो । बुवा, आमा अझैपनि खेललाई राम्ररी अघि बढाउन सुझाउँछन् ।
सृष्टिका बुवा, आमा मात्र नभएर घरका सबैले साथ, सहयोग र प्रेरणा दिने गरेको बताउँछिन् ।
‘म स्वयम्भु बस्छु र बिहान ६ बजे ट्रेनिङ गर्न लगनखेल आउँछु । म सबेरै उठ्दा ममीले खाजा बनाइदिनुहुन्छ र बाबाले सधै लगनखेलसम्म छोड्न र लिन आउनुहुन्छ । दाई, भाउजुले पनि धेरै माया र सर्पाेट गर्नुहुन्छ ।’ उनी भन्छिन् ।
‘खेलमा लाग्न परिवारबाट धेरै सर्पाेट चाहिन्छ । मलाई त धेरै सर्पाेट छ । म आफुलाई भाग्यमानी ठान्छु ।’ उनी भन्छिन् ।
सृष्टि अहिले कुमारीपाटीको मेघा नेश्नल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् ।
उनले पढाईका कारण टिममा संयुक्त रुपमा ट्रेनिङ गर्न पाएकी छैनन् । उनले बिहान ६ बजे दुई घण्टा प्रशिक्षण गर्छिन् र उतैबाट कलेज जान्छिन् ।
‘पढाईको समय नमिल्दा विभागमा आएपछि पनि पुरै टिमसँग प्रशिक्षण गर्न पाएको छैन । स्कुल पढ्दा पनि स्कुल भ्याउनुपथ्र्याे । कति कोर्ष पढ्न भ्याएको छैन । कलेज जान नपाएपनि घरमै बसेर नोट बनाउने, पढ्ने गरिरहेको छु । कलेजमा गेम छ भनेपछि राम्रोसँग खेल भन्नुहुन्छ । कलेजबाट पनि धेरै सर्पाेट छ ।’ उनी भन्छिन् ।
भलिबलमा भविष्य खोजिरहेकी सृष्टिको आर्मीमा अफिसरको जागिर खाने र भलिबललाई निरन्तरता दिने योजना छ ।
‘भलिबल एकदमै प्यारो लाग्छ । १२ पढेपछि आर्मीमा अफिसरको प्रयास गर्छु । र भलिबललाई निरन्तरता दिन्छु ।’ उनी भन्छिन् ।
सृष्टिले आफु चाँडै राष्ट्रिय टिमका लागि छनोट हुने विश्वास ब्यक्त गरिन् ।
‘राष्ट्रिय टिममा पर्छु जस्तो लाग्छ । आफ्नो उत्कृष्ट दिइरहेको छु । छनौटमा पर्छु भन्ने लागेको छ । गुरुले ठुलो आश लिएर सेटमा हाल्नुभएको छ । उहाँको आशालाई प्रमाणित गर्न उत्कृष्ट दिइरहेको छु । जे होस्, पर्छु जस्तो लाग्छ ।’ सृष्टिले भनिन् ।