काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।
जितसंगै एपीएफ समूह 'ए' बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णालीको हारले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब समेत सेमिफाइनलमा पुगेको छ ।
एपीएफले दिएको २ सय १९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो ।
कर्णालीका हेमन्त ओलीले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै हिमान्सु शाहीले २० रन जोड्दा कप्तान रविन्द्र शाहीले १४ रन बनाए ।
अविशेक ठकुरी र राज साहले समान १२/१२ रन जोडे ।
एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३/३ विकेट लिए । भुवन कार्कीले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो ।
एपीएफको लागि सन्दीप जोराले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए ।
भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए ।
सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए ।
किशोर महतो २५ रनमा अविजित रहे ।
कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३/३ विकेट लिए ।
दिवन पुन र राज साहले २/२ विकेट लिए ।
जितसंगै समूह 'ए' को एपीएफले ३ खेलमा ६ अंक जोडेको छ ।
एपीएफ तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
एपीएफले यस अघि प्रदेश-१ र गण्डकीलाई हराएको थियो ।
यस समूहमा आर्मी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अब एपीएफ र आर्मीबीचको खेलले समूह विजेता र उपविजेता तय हुनेछ ।
कर्णालीको यो तेस्रो हार हो । हारसंगै कर्णाली बाहिरिएको छ ।
कर्णालीले ४ खेलमा २ अंक जोड्यो ।
कर्णाली तेस्रो स्थानमा रहेर समूह चरणबाट बाहिरिएको हो ।
यस समूहबाट प्रदेश-१ र गण्डकी प्रदेश पनि बाहिरिएको छ ।