काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनायो ।
एपीएफको लागि सन्दीप जोराले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए ।
भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए ।
सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए ।
किशोर महतो २५ रनमा अविजित रहे ।
कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३/३ विकेट लिए ।
दिवन पुन र राज साहले २/२ विकेट लिए ।
आज एपीएफ लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
एपीएफले यस अघि प्रदेश-१ र गण्डकीलाई हराएको थियो ।
समूह 'ए' को एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।
एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ । कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ ।
कर्णालीले ३ खेलमा २ अंक जोडेको छ । कर्णाली तेस्रो स्थानमा रहेको छ ।