काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार प्रदेश-२ लाई ६ विकेटले पराजित गर्दै बागमतीले लगातार तेस्रो जित निकालेको हो ।
प्रदेश-२ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।
बागमतीको जितमा पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले । उनले ७५ बलमा अविजित रहदै ५३ रन बनाए ।
पृथुको यो लगातार दोस्रो अर्धशतक हो ।
यस्तै बिभत्सु थापाले ४७ रन जोड्दा आकाश थापाले ३२ रन बनाए ।
इशान पाण्डे १५ रन बनाउदा आदील खान ५ रनमा आउट भए ।
कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे ।
प्रदेश-२ का हरिशंकर शाहले २ विकेट लिए । विशाल सुसलिङ र कुमार थापाले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो ।
प्रदेश-२ का लागि विवेक यादवले ६६ अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन बनाए ।
सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनमा आउट भए ।
प्रदेश-२ लाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिए । उनले मात्र २९ रन खर्चिए ।
रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए ।
जितसंगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ ।
समूह 'बी' को बागमती सेमिफाइनल नजिक समेत पुगेको छ ।
यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो ।
बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रदेश-२ को यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो ।
प्रदेश-२ चौंथो स्थानमा रहेको छ ।