एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले जित निकालेको छ ।
आबुधाबीमा बिहीबार भएको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई १७ रनले हराएको हो ।
अफगानिस्तानले दिएको २ सय ८८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७१ रन मात्र बनाउन सक्यो ।
आयरल्याण्डका लोर्कान टुकरले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुर्टिस काम्फेर र पाउल स्ट्रर्लिङले ३९/३९ रन बनाए ।
ह्यारी टेक्टर २८ रनमा आउट भए ।
अफगानिस्तानका नभिन उलहकले ३ विकेट लिए ।
मुजिब उर रहमान र राशिद खानले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।
अफगानिस्तानका लागि डेब्यु खेलाडी रहमान उल्लाह गुर्बाजले १ सय २७ रनको शतकीय इनिङ्स खेले । गुर्बाज डेब्यु खेलमै शतक बनाउने पहिलो अफगानी खेलाडी बने ।
यस्तै राशिद खानले ५५ रन जोड्दा जाभेद अह्मादीले ३८ र नाजिबउल्लाह जाड्रनले २९ रन बनाए ।
आयरल्याण्डका एन्डी म्याकब्रेनीले ५ विकेट लिए ।
जितसंगै अफगानिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।