काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंकालाई विश्वकप जिताएका देभ वाटमोरलाई बिहिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्यो ।
टी–ट्वान्टी विश्वकप खेलेको र एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेट सम्हाल्न आईपुगेका वाटमोर घरेलु क्रिकेटले पाएको अहिलेसम्मकै हाईप्रोफाईलका प्रशिक्षक हुन् ।
श्रीलंका, पाकिस्तान, बंगलादेश जस्ता क्रिकेटका पावरहाउसको नेतृत्व गरिसकेका वाटमोरले नयाँ चुनौतीको रुपमा नेपाल रोजे ।
शुन्य प्राय रहेको घरेलु क्रिकेटको संरचना र विश्व जगतमा नेपाली क्रिकेटको उदाउँदो चित्रका बीच वाटमोर नेपाल आईपुगेका हुन् ।
बिहिबार पत्रकारमाझ सार्वजनीक भएका वाटमोरले कुनै ठुलो कुरा गरेनन् । सारमा उनले आफुले क्रिकेटमा प्राप्त अनुभव र सफलता नेपाली क्रिकेटमा लगाउने बताए । र नेपालले प्राप्त गरेको एकदिवसीय मान्यतालाई सुदृढ गर्ने उल्लेख गरे ।
विवाद र असक्षमतामा रुमलिएको नेपाल क्रिकेट संघ (क्यान) र विश्व क्रिकेटमा फड्को हान्न कोशिश गरिरहेको नेपाली क्रिकेटको आर्किटेक्चर बनेर वाटमोर आएका छन् । वाटमोरसंग नेपाली क्रिकेटको ठुलो आश र अपेक्षा छ । वाटमोरकै सफलता नेपाली क्रिकेटको भाग्य र भविष्य निर्धारण हुने निश्चित छ ।
त्यसो भए वाटमोरसंग क्यानको अपेक्षा के छ त ?
वाटमोरलाई साक्षी राखेर क्यानका महासचिव अशोकनाथ प्याकुरेलले तीन कुरा प्रष्ट पारे ।
पहिलो वाटमोरको नेतृत्वमा क्यान एकदिवसीय मान्यतालाई कायम राख्न चाहन्छ ।
नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएका एकदिवसीय विश्वकप छनोटमा उत्कृष्ट चार एसोसियट राष्ट्रको रुपमा नेपालले सो मान्यता पाएको थियो । नेपालले अहिलेसम्म १० एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छ । समान ५ खेलमा समान हार र जितको नतिजा आत्मसाथ गरेको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले करिब एक वर्ष विश्व क्रिकेट प्रभावित बन्यो ।
सोही कारण अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालको एकदिवसीय मान्यतालाई एक वर्ष थप गर्दै सन् २०२३ सम्म पुर्याएको छ । नेपालले एकदिवसीय मान्यता जोगाईराख्न अधिकतम खेलमा राम्रो नतिजा निकाल्न आवश्यक छ । त्यसका कारण वाटमोरले नेपाली क्रिकेटका तमाम कमजोरीलाई सुधार गर्नुपर्नेछ ।
दोस्रो विषय क्यानले वाटमोरसंग ग्रासरुट क्रिकेटलाई केन्द्रित गर्न खोजेको छ ।
नेपाली क्रिकेटको ठुलो समस्या ग्रासरुट कार्यक्रम हो । नेपालमा क्रिकेटका ग्रासरुट कार्यक्रमनै सुरु हुन सकेको छैन । जबसम्म ग्रासरुट सञ्चालन गर्न सकिदैन, राम्रा खेलाडी उत्पादन हुन गाह्रो छ । क्यान वाटमोरको योजनामा ग्रासरुटका कार्यक्रम घरेलु क्रिकेटमा सञ्चालन गर्न चाहेको देखिन्छ ।
महासचिव प्याकुरेलका अनुसार क्यानको तेस्रो अपेक्षा भनेको वाटमोरबाट युथ र महिला क्रिकेटमा आवश्यक सल्लाह लिनु समेत रहेको छ । तुलनात्मक रुपमा नेपालमा युथ र महिला क्रिकेटका गतिविधि कमजोर छन् । सिनियर स्तरकै प्रतियोगिता कम हुने देशमा युवा र महिलाका प्रतियोगिता नगन्य छन् । वाटमोरसंग क्यानले युवा र महिला क्रिकेट विकासमा सहकार्य गर्न चाहेको देखिन्छ ।
करिब दुई दशक प्रशिक्षकको भुमिका निर्वाह गरेका वाटमोर विश्व क्रिकेटको ठुलो नाम हो । एक वर्षको सम्झौता गर्दै काठमाडौं ओर्लिएका वाटमोरलाई क्यानसंग मिलेर आफ्नो योजना नेपाली क्रिकेटमा लागु गर्नुपर्ने चुनौती छ ।
नेपालको क्रिकेटको भद्रगोल व्यवस्थापनमा वाटमोरले कस्तो नतिजा देलान् ? प्रतिक्षा गरौं न !