काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सप्रति आभार व्यक्त गरेका छन् ।
सन्दीपले बिहीबार आईपीएल क्रिकेटमा ब्रेक दिएको भन्दै सामाजिक संजालबाट दिल्लीप्रति आभार प्रकट गरेका हुन् ।
दिल्लीले सन्दीपलाई बुधबार मात्रै रिलिज गरेको थियो । दिल्लीले रिलिज गरेसंगै सन्दीप अब मेगा अक्सनमा सामेल हुने छन् ।
'इण्डियन प्रिमियर लिगले मलाई धेरै दिएको छ । विशेषगरी दिल्ली क्यापिटल्सले म माथि भरोसा गर्यो र मलाई मौका दियो,' सन्दीपले लेखेका छन्, 'म दिल्ली परिवारप्रति आभारी छु । विशेष हेमन्त दुवा सरले मलाई लिनु भयो ।'
युएईमा सम्पन्न १३ औं संस्करणको आईपीएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको थियो ।
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई दिल्लीले सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा खरिद गरेको थियो । त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो ।
आईपीएल खेलेसंगै सन्दीपले विश्व क्रिकेटमा तहल्का मच्चाएका थिए । उनले विश्वका ठुला क्रिकेट लिग खेलिसकेका छन् ।
सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए ।
तर, सन्दीपले १३ औं संस्करणमा भने मैदान उत्रन पाएनन् । दिल्ली फाइनल पुगे पनि सन्दीप बेन्चमै सिमित भए ।
आईपीएल इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि भिडन्तमा मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएको थियो ।