काठमाडौं । धनगढी क्रिकेट एकेडेमी (डिसीए) लाई घोराही सिमेन्ट इन्डिष्ट्रिको उत्पादन सगरमाथा सिमेन्टले प्रायोजन गरेको छ ।
एकेडेमी र सगरमाथा सिमेन्टबीच बुधबार तीन वर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
घोराही सिमेन्ट इन्डिष्ट्रिका मार्केटिङ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री, आयोजना गर्ने प्रतियोगिता, ग्रास रुट कार्यक्रम, लगायत सम्पूर्ण कार्यलाई सगरमाथा सिमेन्टले सहयोग गर्नेछ ।
धनगढी क्रिकेट एकेडेमीले प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ ।
एकेडेमीले नेपाली क्रिकेटको विकासका लागि अहम भूमिका खेल्दै आएको छ । एकेडेमीले नेपालकै पहिलो व्यवसायिक क्रिकेट धनगढी प्रिमियर लिगका तीन संस्करणहरु आयोजना गरिसकेको छ ।
सम्झौतापछि बिल्दै सगरमाथाको मार्केटिङ प्रमुख अधिकारीले क्रिकेटको शहर धनगढी र नेपाली क्रिकेटमा योगदान पुर्याउन प्रायोजन गरेको बताए ।
‘धनगढी क्रिकेट एकेडेमीसँग हाम्रो लामो सहकार्य रहँदै आएको छ । विगतमा पनि हामीले धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगलाई पनि मुख्य प्रायोजन गरिसकेका छौं,' उनले भने, 'पुनः एकपटक धनगढी क्रिकेट एकेडेमीसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं । विगत झै आगामी दिनमा पनि हामी क्रिकेटको शहर धनगढी र नेपाली क्रिकेटमा योगदान पुर्याउँने नै छौं।’
यस्तै एकेडेमीका अध्यक्ष सुवास शाहीले सम्झौताले नेपाली क्रिकेटको प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने बताए ।
‘ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ । पुनः एकपटक सहकार्यका लागि कम्पनीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं,’ शाहीले भने ।