काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।
कर्णालीले राष्ट्रिय प्रतियोगितामा जित निकालेको यो पहिलो खेल हो ।
गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै विपिन रावलले ४९ रन जोड्दा राज शाहले ३२ रन बनाए । हेमन्त ओली २९ रनमा आउट भए ।
गण्डकीका विपिन खत्रीले ४ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो ।
गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । अर्जुन कुमालले ४६ रन जोड्दा कप्तान विपिन खत्रीले ३२ रन बनाए ।
विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रनमा आउट भए ।
कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । यस्तै अनुज चुनरा र दिवन पुनले २/२ विकेट लिए ।
जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ ।
समूह 'ए' मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो ।
गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ ।
गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।