काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अहिले विभागीय टिम एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रदेश-१ विरुद्ध एपीएफले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । प्रदेश-१ ले टस जितेर बलिङ रोजेपछि एपीएफले ब्याटिङ गर्ने भएको हो ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने एपीएफ सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफको टिम निकै मजबुत रहेको छ ।
यता, प्रदेश-१ पनि सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सिद्दान्त लोहनीको कप्तानीमा रहेको प्रदेश- १ लाई पनि निकै बलियो टिमको रुपमा हेरिएको छ । दाङमा भएको महिलाको पीएम कप प्रदेश-१ ले जितेको थियो ।
यसै समूहको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरिसकेको छ । शुक्रबार आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराएको थियो ।
पीएम कपमा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ ।
समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।