काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएको ९ दिनमै मैदान उत्रिएर बिनोद भण्डारीले शुक्रबार शतक प्रहार गरेका छन् ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम आर्मीको कप्तानी गरेका बिनोदले गण्डकी प्रदेशविरुद्ध शतकिय इनिङ्स खेले ।
उनले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए ।
‘भर्खरै कोरोनाबाट मुक्त भएर आएको छु । खेल्ने विचारमा थिएन । तर सेटका तीन जना खेलाडी टिममा थिएनन् । जबर्जस्ती खेलेको हो ।’ खेलपछि सञ्चारकर्मीसंग बिनोदले भने ।
बिनोदकै शतकिय इनिङ्समा आर्मीले गण्डकीलाई ९९ रनले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गर्यो ।
मुख्य तीन खेलाडीबिनै मैदान उत्रिएको आर्मीले प्रदेशको टिमविरुद्ध बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।
मुख्य खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल यूएईमा हुने टी–टेन फ्रेन्चाईज लिग खेल्न जाने भएपछि बिनोदले मैदान उत्रने निर्णय लिएका थिए ।
‘उनीहरुले तीन खेल खेल्न भ्याउँथे । तर सुरुवाती खेल प्रदेशसंग छ । मुख्य खेलाडी हट्दा बलियो टिमसंग खेल्न गाह्रो हुन्छ । टिमको अवस्था अनुसार उनीहरुलाई बाहिर राखेर खेलेको हो ।’ उनले कारण बताए ।
कप्तान बिनोदले आफ्नो लक्ष्य कम्तिमा फाईनल रहेको उल्लेख गर्दै अगाडीको खेलमा केन्द्रित रहेको बताए ।
‘टप अर्डरले राम्रो गरिरहेको थिएन । तर हामीसंग समय थियो । दबाब लिन आवश्यक थिएन । ५० ओभरको खेलमा खेल्दा खेलाडीसंग समय हुन्छ । खेल अनुसार खेलाडीले आफुलाई ढाल्न पर्छ । त्यही अनुसार खेल्न पर्छ ।’ उनले भने ।