एजेन्सी । तिव्र गतिका बलर उमेश यादवको स्थानमा टी नटराजन भारतीय क्रिकेट टिममा सहभागी बनेका छन् ।
सिरिजको तेस्रो टेष्ट जनवरी ७ बाट सुरु हुदैछ ।
३३ वर्षिया अनुभवी फास्ट बलर उमेश यादवले अष्ट्रेलियाविरुद्धको बाँकी टेष्ट नखेल्ने भएपछि नटराजनले मौका पाएका हुन् ।
अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको तेस्रो दिनको खेलको दौरान पिड्यौलाको मांशपेशीमा चोट बोकेपछि उनले मैदान छाडेका थिए ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले उमेश यादव बाँकी दुई टेष्टमा निको नहुने बताएको थियो ।
उमेश र मोहम्मद शामी बेङ्गलोरमा राष्ट्रिय क्रिकेट एकेडेमीमा रिहाब प्रक्रियाबाट गुज्रनेछन् । मोहम्मद शामी समेत चोटबाट भारतीय क्रिकेट टिम बाहिर छन् ।
बक्सिङ्ग डे टेष्ट भन्दा पहिला उनको स्थानमा शादुएल ठाकुर टेष्ट टिममा सहभागी बनेका थिए । शामीले पहिलो टेष्टमा ब्याटिङ्ग गर्ने क्रममा दाहिने हातमा चोट लागेको थियो ।
२९ वर्षका योर्कर म्यान नटराजनले यसैपटक अष्ट्रेलियाको भ्रमणबाट अन्तराष्ट्रिय क्रिकेटमा पाईला राखेका थिए । उनले एक वान डे र तीन टी–२० म्याचमा शानदार प्रर्दशन गर्दै ८ विकेट लिएका थिए ।
बायाँ हातका बलर नटराजनले तमिलनाडुबाट पहिलो श्रेणीको कुल २० म्याच खेलेका छन् । अब उनी भारतको टेष्ट टिमका लागि समेत खेल्नेछन् । अष्ट्रेलियाविरुद्धको सिरिज १–१ को अवस्थामा रहेको छ ।
रोहित शर्मा आफ्नो क्वारिन्टिन अवधि पुरा गर्दै मेलबर्नमा भारतीय टिमसंग जोडिएका छन् । उनले बिहिबारको अभ्यास सत्रमा भाग लिएका थिए । उनलाई उपकप्तान बनाईएको छ ।
मेलबर्न टेष्टमा आजिक्या रहाणे कप्तान हुदाँ चेतेश्वर पुजारा उपकप्तान थिए ।