काठमाडौं । नेपाली बाल कराते खेलाडी आर्यन रन्जितले वर्ल्ड बुक अफ रेकर्ड युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् ।
उनलाई गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी र वर्ल्ड बुक अफ रेकर्ड, युके, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले प्रमाण पत्र हस्तान्तरण गरे ।
सानो उमेरमा खेलकुदमा पुर्राएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ ।
खेलकुद क्षेत्रबाट नेपालबाट सम्मानित हुने आर्यन पहिलो भएको उनका पिता सञ्जयले जनाएका छन् । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ ।
आर्यनले नेपालमा भएको विभिन्न पाँच अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेलेका छन् । पाँचैमा उनले स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी भएका थिए ।
भारतमा भएको दुई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नौ वर्षीय आर्यनले दुवैमा स्वर्ण जितेका थिए । सिंगापुरमा भएको प्रतियोगितामा उनी तेश्रो भएका थिए ।
आर्यनले थाइल्यान्ड र मलेसियामा भएको प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।