एजेन्सी । इंग्ल्यान्डका रोनी ओ'सुलिभानले स्नुकरको विश्व च्याम्पियनसिपको उपाधि जितेका छन् ।
सेफिल्डको आइतबार राति इंग्ल्यान्डकै क्य्रेन विल्सनलाई पराजित गर्दै रोनीले उपाधि जितेका हुन् ।
क्रुसिबल थियटरमा उपाधि जित्ने क्रममा रोनीले विल्सनलाई १८-८ को फ्रेममा पराजित गरे ।
यससँगै रोनीले छैटौं पटक विश्व च्याम्पियनसिपको उपाधि जित्न सफल भए ।पछिल्लो पटक उनले २०१३ मा उपाधि जितेका थिए ।
६ पटक विश्व च्याम्पियनसिप जित्ने उनी तेस्रो खेलाडी हुन्।
सर्वाधिक धेरै विश्व च्याम्पियनसिप जित्ने खेलाडी स्टेफेन हेन्ड्री हुन् । स्कटल्याण्डका पूर्व खेलाडी स्टेफेनले ७ पटक उपाधि जितेका छन् ।
४४ वर्षीय रोनी विश्व च्याम्पियनसिप जित्ने राय रेयरडनपछि सर्वाधिक पाको खेलाडी बने । रेयरडनले १९७८ मा ४५ वर्षको उमेरमा उपाधि जितेका थिए ।
उपाधिसँगै रोनीले ५ लाख पाउण्ड नगद प्राप्त गरे ।