काठमाडौं । स्पार्क हस्पिटलले नेपाली फुटबल खेलाडी कोमल खवासको श्रीमतीको उपचारमा कमी हुन नदिने जनाएको छ ।
गत साता घरको छतबाट लडेर कोमलको श्रीमती सिर्जना खरेलको ढाँड भाचिएको थियो । उनी अहिले विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथरापी हस्पिटलमा उपचाररत छिन् ।
‘घटना पछि कोमलले मलाई सम्पर्क गरेका थिए । पैसा छैन गाह्रो छ भनेपछि पनि उपचार रोकेनौं । पैसा कारण उपचारमा रोकिनु पर्दैन भनेर सुरु गरेका छौं,’ स्पार्क हस्पिटलका निर्देशक रुपेश अधिकारीले भने ।
अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य समेत रहेका अधिकारीले उनको उपचारको लागि दाताहरु खोज्ने काम भैरहेको खेलपाटीलाई जानकारी गराए ।
‘उपचार खर्च जुटाउन अहिले दाताहरु खोजिरहेका छौं,’ उनले थपे ।
यस हस्पिटलले 'बी' डिभिजनको क्लब बासबारी क्लबलाई समेत प्रायोजन गरेको थियो ।
हस्पिटलका अनुसार खवासका श्रीमतीलाई कम्तिमा ६ हप्ता हस्पिटलमा राख्नुपर्नेछ ।
यस अघि पनि खवासलाई राष्ट्रिय स्तरका खेलाडी र शुभचिन्तकले सहयोग गर्दै आईरहेका छन् ।