काठमाडौं । कोरोना भाईरसको कारण लामो समयबाट बन्द रहेको राष्ट्रिय टिमको प्रशिक्षण आगामी भदौं १ गतेबाट संचालन गर्न सकिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न अनुमति दिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पत्रकार सम्मेलन गर्दै भदौं १ बाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु सञ्चालन गर्न सकिने बताए ।
तर, स्विमिङ पुल, जिमखाना लगायत हेल्थक्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति भन्दा अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।
सरकारको निर्णयसँगै विश्वकप छनोट खेलिरहेको राष्ट्रिय फुटबल टिमले भदौं १ बाट प्रशिक्षण गर्न पाउने भएको छ ।
छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।
सरकारले कोरोना संक्रमणको जोखिमलाई रोक्न गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।
त्यसयता सम्पूर्ण खेलकुद गतिविधि बन्द रहेको थियो ।
तर, सरकारले आज (मंगलबार) रातिबाट लकडाउन समेत अन्त्य भएको घोषणा गरेको छ ।