काठमाडौं । तेक्वान्दोका दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले बुधबार राजिनामा दिएका छन् ।
दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएको विष्टले जनाएका छन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।
राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजिनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजिनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् ।
दीपक र संगीनाले प्रशिक्षककै रुपमा करियर अघि बढाउन खोजेका छन् भने उपेन्द्रमानले एन्फालाई निरन्तरता दिन चाहेका छन् ।
उपेन्द्रमान अहिले एन्फाको उपाध्यक्ष पदमा रहेका छन् । उनले एन्फाको निकै महत्वकाक्षी परियोजना ग्रासरुट फुटबल र युवा खेलाडी विकासको परियोजना सञ्चालन गरिरहेका छन् ।
हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनैपनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजिनामा दिइ रहेका छन् ।