काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडी सन्जु चौधरीले सम्मानको नाममा आफु अपमानित भएको बताएकी छिन् ।
सन्जुले सामाजिक संजाल फेसबुकबाट आफुलाई सम्मानको नाममा नेपालगन्ज उपमहानगरपालिकाले अपमान गरेको बताएकी छिन् ।
उपमहानगरपालिकाले आफ्नो सातौं नगरसभाको अवसरमा सम्मान गर्ने भनेर बोलाएपनि सम्मान नगरी फिर्ता पठाएर अपमान गरेको सन्जुको भनाई छ ।
'हामी खेलाडीको स्वभिमान हुँदैन र ? कुरा नमिली नबुझी सम्मान छ भन्दै बोलाउने। आफु नसके परिवारको सदस्यलाई पठाउनु भन्ने । अनि परिवारको सदस्य पुगेपछि कुरा मिलेन भनेर जानु भन्ने,' उनले फेसबुकमा लेखेकी छिन्, 'यस्तै तरिका हो भने कुनै पनि परिवारले आफ्ना सन्तानलाई खेलाडी बन्न दिन्छ र ।'
सन्जुले सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण जितेका थिइन् । सन्जु सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी हुन् ।
'पैसा होइन स्वाभिमान चाहिएको हो। खेलाडीले खेल्ने भनेको देशका लागि हो । त्यसपछि आफ्नो लागि हो,' सन्जुले लेखेकी छिन् ।
सन्जु हाल काठमाडौंमा रहेकी छिन् । त्यसैले सन्जुले सम्मानका लागि बुवालाई कार्यक्रममा पठाएकी थिइन् ।
तर, आवश्यक कागजात नपुगेको भन्दै उपमहानगरले बुबालाई फिर्ता पठाएको सन्जुले बताईन् ।