धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि धनगढी उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ ।
धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७७÷७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो ।
धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभा मार्फत आर्थिक वर्षको बजेटमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको जानकारी दिईन् ।
‘उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अवार्ड प्रदान गर्न आवश्यक बजेट व्यवस्था मिलाईएको छ,’ उपमेयर भट्टले भनिन्–‘यसपाली कोरोनामा अधिकांश कार्यक्रमहरु केन्द्रित भएकोले कम बजेट नै विनियोजन भएको छ ।’
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ ।
स्पोर्ट्स अवार्डका लागि एक लाख पचास हजार रुपैयाँ छुट्ट्याइएको छ ।
उपमहानगरपालिकाले स्पोर्ट्स अवार्डकै लागि बजेटमा समावेश गरेर विनियोजनको व्यवस्था मिलाइएको सुदूरपश्चिममा यो सम्भवतः पहिलो हो ।
यसै प्रदेश सरकारले गत मंसीरमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीलाई नगद सहित सम्मान गर्ने तयारी गरेको छ ।
गत वर्ष ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर वर्ष खेलाडी घोषित भएका थिए ।