काठमाडौं । उसु तथा क्योकुशिन फुल कन्ट्याक्ट करातेका पूर्व च्याम्पियन विरमान लामा (वाइबा) को निधन भएको छ ।
क्योकुशिन फुल कन्ट्याक्ट करातेमा १० पटकको राष्ट्रिय च्याम्पियन लामाको शनिबार राति निधन भएको हो ।
त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका लामाको काभ्रे बेथानचोक गाउँपालिकामा रहेको आफ्नै घरमा निधन भएको हो ।
आइतबार बिहान अबेरसम्म नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा लामा मृत फेला परेका थिए ।
लामा फुल कन्ट्याक्ट कराते महासंघको राष्ट्रिय प्रतियोगिताका ३ पटकको राष्ट्रिय च्याम्पियन समेत हुन् ।
लामाले उसुबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका थिए ।
२६ वर्षीय लामा उसुबाट १८ औं संस्करणको एसियन गेम्स खेल्न इन्डोनेसिया पुगेपनि खेल्न पाएका थिएनन् ।
राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि एसियाली खेलकुदका लागि छनोट भएका थिए ।
तर, उसु संघको विवादका कारण उनले खेल्न पाएनन् ।
इन्डोनेसियाबाट फर्केपछि लामाले उसु खेल छाडेका थिए ।
यस्तै लामा मुवा थाई खेलमा समेत सक्रिय थिए ।