काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व कार्यबाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको पाँचौं पुण्यतिथिका दिन श्रदान्जली सभाको आयोजना गरि शोक मनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा बिहिबार एन्फाले श्रेष्ठको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरेको हो ।
श्रदान्जली सभामा एन्फा कम्प्लेक्स परिसरमा रहेको श्रेष्ठको प्रतिमामा फूलमाला माल्यार्पण गरिनुका साथै एक मिनेट मौन धारण गरि श्रदान्जली अर्पण गरिएको थियो ।
सभामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, थ्री स्टार क्लबका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एन्फाका अध्यक्ष शेर्पा, थ्री स्टार क्लबका अध्यक्ष अरुण मन जोशी लगायतले नेपाली फुटबलमा श्रेष्ठले दिएको योगदानबारे चर्चा गरेका थिए ।
यस्तै एन्फाले श्रेष्ठको सम्झनामा हरेक वर्ष आयोजना गर्दै आईरहेको ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपको कोरोना भाईरसको महामारी सहज भएपछि गरिने जनाएको छ ।
थ्री स्टार क्लबका अध्यक्ष समेत रहेका श्रेष्ठको करेन्ट लागेर २०७२ सालमा निधन भएको थियो ।