पोखरा । घरेलु खेलकुदमा महिला क्रिकेट पुरुषको दाँजोमा कमजोर छ । कारण, महिला क्रिकेटरले पाउने सुविधा, खेलको अनुभव पुरुष क्रिकेटरको तुलनामा कम देखिन्छ ।
महिला क्रिकेटको गर्विलो ईतिहास नेपालसंग भएपनि वर्तमान अवस्था निराशाजक छ । महिला क्रिकेटर औलामा गन्न सकिने अवस्था छन् । खेलाडीको संख्या कम छ, प्रतियोगिता खेल्नका लागि टिमै बनाउन मुस्किल पर्छ ।
पुरुष क्रिकेटको तुलनामा महिलाका प्रतियोगिता निकै कम हुन्छन् । केन्द्रिय स्तरकै क्रिकेटर बेरोजगार रहेको अवस्थामा प्रदेश र स्थानीय तहमा खेलाडी उत्पादन र प्रतियोगिता आयोजना दुर्लभ हुनेनै भयो । महिला क्रिकेटरलाई दिने सेवा सुविधाका बिषयमा नेपाल क्रिकेट संघ (क्यान) अन्यौलमै देखिन्छ ।
महिला क्रिकेटरका ठुलो समस्या उनीहरु हत्तपत्त बोल्न चाहदैनन् । सञ्चार माध्यमबाट टाढै रहन रुचाउँछन् । देखिन चाहदैनन्, लागेको भन्न सक्दैनन् । आफुलाई कमजोर ठान्ने लघुताभासले महिला क्रिकेटरका समस्या बाहिर आउन नसकेको धेरैको बुझाई छ ।
कप्तान रुबिना क्षेत्रीनै प्राय मिडियालाई ‘फेस’ गरिरहेकी हुन्छिन् ।
सञ्चार माध्यमले प्रश्न गर्दा अधिकांश खेलाडी रुबिनालाई देखाउँछन् ।
‘रुबिना दिदिलाई सोध्नुहोस् न है !’ उनीहरुको उत्तर हुन्छ ।
अधिकांश प्रश्नलाई एक्लै ‘फेस’ गर्नुपर्दा रुबिनामाथि मिडियाको दबाब थुप्रने गर्छ । मिडियामा बोल्नै पर्ने दबाबले रुबिना कतिको त आखाँको तारो समेत बन्ने गरेकी छिन् ।
‘कहिलेकाहीँ त नबोल भन्दै दबाब आउँछ, तर क्रिकेटको विकास हुन्छ भने किन बोल्न पछि हट्ने ?’ रुबिना प्रश्न गर्छिन् ।
रुबिना प्रश्नको सामाना गर्ने दृढता हरेक खेलाडीमा विकास गर्नुपर्ने बताउँछिन् ।
महिला क्रिकेटर मैदान बाहिर आत्मविश्वासी बन्न सकेका छैनन् । रुबिना बाहेक अन्य खेलाडी आफ्ना सरोकारका बिषय मिडियासंग राख्न सक्दैनन् ।
सामान्य प्रश्नको उत्तर समेत दिन डराउँछन् । बिचार, धारणा, सामान्य अवस्थाको वर्णन, अन्तर्वार्ता समेत दिन महिला क्रिकेटरलाई हम्मेहम्मे पर्छ । उनीहरू बोल्नै खोज्दैनन्, सकेसम्म मिडियाबाट टाढै बस्न खोज्छन् ।
केही महिना अघि पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग सम्पन्न भयो । लिगको दौरान अधिकांश खेलाडी बोल्नै अकमकाउने गरेको प्रष्ट देखिन्थ्यो ।
प्लेयर अफ दि म्याच घोषित हुँदा समेत पत्रकारसँग बोल्नै नपरे हुन्थ्यो जस्तो हाउ खेलाडी देखाउँथे । बोले नि निकै थोरै प्रतिक्रिया दिन्थे ।
खेलाडीमा नियमित अभ्यास नहुँदा र आत्माविश्वासको कमीले समस्या हुने गरेको कप्तान रुबिनाको बुझाई छ । ‘खेलाडीमा आत्मविश्वास देख्दिन् । अधिकांश खेलाडी मिडिया, क्यामेरा भन्ने बित्तीकै भाग्ने गर्छन् ।’ रुबिनाको अनुभव छ ।
कप्तान रुबिना आफुले मात्र बोल्ने भएकाले धेरैले नसुन्ने गरेको र सुनेपनि मनमा नलिने गरेको अनुभव गर्छिन् । खेलाडीमा बोल्ने आत्मविश्वास नहुँदा महिला क्रिकेट पछाडी परेको रुबिना बताउँछिन् ।
‘म एक्लै बोलेर कसले र कहिलेसम्म सुन्ने ?’ उनी प्रश्न गर्छिन्, ‘नबोल्ने भएकाले दबाउने गरिन्छ, खेलाडीहरु अब बोल्न सक्नुपर्छ ।’
खेलाडीहरु मैदानमा राम्रो भएपनि आत्मविश्वासी नहुदाँ नेतृत्व विकास गर्न समस्या देखिएको रुबिना सुनाउँछिन् ।
‘नेतृत्व लिन खेलाडीले स्पष्ट रुपमा बोल्न सक्नुपर्छ । मैदानमा मात्र राम्रो भएर हुँदैन, बोल्न सक्नुपर्छ ।’ उनी भन्छिन् ।
‘खेलाडी पहिले टिमभित्रै पनि बोल्न डराउँथे । अहिले प्रत्येक सदस्यले टिम मिटिङमा दुई मिनेट बोल्नै पर्ने नियम राखिएको छ । त्यसले खेलाडीमा केही सुधार भएको छ ।’ उनी भन्छिन् ।
नेपालका महिला क्रिकेटरमात्र हैन, विश्वकै परिदृष्यमै खेलाडी बोल्ने स्वभावका हुदैनन् । नयाँ खेलाडीलाई व्यक्तित्व विकासका लागि कक्षा दिने अन्तराष्ट्रिय प्रचलन समेत छ ।
भारतीय पूर्व क्रिकेटर हरभजन सिंह, नबजोदिन सिद्दु जो अहिले खुलेर कमेन्ट्री गर्छन्, उनीहरु सुरुवातमा निकै लजालु स्वभावका थिए । खेल लगत्तै प्रश्न सोधिने डरले लुकेर भाग्ने गरेको थुप्रै पटक अन्तरवार्तामा उनीहरुले बताएका छन् । तर पछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले दिएको कक्षा र खेलको अनुभवले आत्मविश्वास बढ्दै गएको उनीहरुले सुनाएका छन् ।
महिला क्रिकेटरको हकमा समेत खेलाडीको व्यक्तित्व विकासको कक्षा आवश्यक रहेको रुबिना बताउँछिन् ।
‘खेलाडीको बोल्ने र खेल्ने अनुभवले नै व्यक्तित्व विकास हुँदै जाने हो । यसका लागि खेलाडीलाई विशेष कक्षाको आवश्यकता देखिन्छ । क्यानसंग छलफल गरेर यसलाई अघि बढाउनुपर्ने देखिन्छ ।’ उनी भन्छिन् ।