एजेन्सी । भारत र दक्षिण अफ्रिका आगामी अगष्टको अन्तिममा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न सहमत भएका छन् ।
दुवै देशका क्रिकेट बोर्ड अगष्ट अन्तिममा तीन खेलको सिरिज खेल्न सहमत जनाएका हुन् ।
तर, यी दुई बोर्डले सहमति जनाएपनि दुवै देशका सरकारले यसमा थप सहमति जनाउनु पर्ने आवश्यक रहेको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल विश्व खेलकुद जगत अस्तव्यस्त भएको छ ।
लामो समयबाट क्रिकेट नभएको बेला दक्षिण अफ्रिकाका क्रिकेट डिरेक्टर ग्रेम स्मिथ र भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली सिरिज खेल्न सहमत भएका हुन् ।
दुवै देशका शीर्ष व्यक्तिले फोन मार्फत नै सिरिजमा समर्थन जनाएका हुन् । सिरिज दक्षिण अफ्रिकाले आयोजना गर्ने तयारी गरेको छ । सिरिज दुवै राष्ट्रलाई लाभ हुने अपेक्षा गरिएको छ ।
'हामीले उनीहरू (भारत) संग कुरा गरेका थियौं र तीन टी-ट्वान्टी क्रिकेट खेल्न सहमत भएका छौं,' स्मिथले भने, 'तर त्यसबीचमा धेरै काम गर्नु पर्ने छ । कसैलाई थाहा छैन कि अगष्ट अन्तिम सम्म अवस्था कस्तो हुन्छ । तर हाम्रो सामाजिक दूरी कायम गर्ने खेल हो र हामी बन्द रंगशालामा खेल्न सक्छौ ।'
दक्षिण अफ्रिका क्रिकेटलाई कोरिनाको खासै असर नगरेपनि उसले यो सिरिजबाट ठुलो रकम जुटाउने माध्यम बन्ने अपेक्षा गरिएको छ ।
यता भारतमा भने इन्डियन प्रिमियर लिग आईपीएल नहुने सम्भावना रहेको कारण भारतीय बोर्डलाई ठूलो आर्थिक नोक्सानी हुनेछ ।