एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली र भारतीय फुटबल कप्तान सुनिल क्षेत्री आइतबार सामाजिक सञ्जालको लाईभ देखिए । दुबैले आफ्नो व्यक्तिगत जीवनबारे धेरै कुरा गर्दै समय बिताए ।
यसै अन्तरक्रियामा विराटले अभिनेत्री तथा धर्मपत्नी अनुष्का शर्मालाई विवाह गर्नु अघि आफुले प्रपोज नगरेको खुलासा गरेका छन् ।
विराट र अनुष्का तीन वर्ष अघि वैवाहिक जीवनमा बाधिएका थिए । सन् २०१७ मा अनुष्का र विराटले इटालीमा सुटुक्क विवाह गरेका थिए ।
विराटले यसअघि अनुष्कासँग आफ्नो व्यक्तिगत जीवनबारे खासै खुलासा गरेका छैनन् । तर, विवाहपछि भने विराट र अनुष्काले हरेक पलको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् ।
सुनिल क्षेत्रीसँगको लाईभमा बोल्दै विराटले अनुष्कालाई विवाह अघि प्रपोज नगर्नुको कारण समेत खुलाएका छन् ।
विराटले प्रेम सम्बन्धमा कहिल्यै अनुष्कालाई प्रपोज गर्नु पर्ने अवस्था नआएको बताए । सबै कुरा राम्रोसँग बितिरहेको कारण कहिल्यै यस्तो अवस्था नआएको विराटको भनाई छ ।
'हरेक दिन प्रणय दिवस हुन सक्छ । जे अनुष्काले भनेको थिइन् त्यो सही हो । हामीलाई कहिल्यै प्रोपोज गर्नुपर्छ जस्तो महसुस नै भएन,' विराटले भने, 'हामीलाई थाहा थियो कि हामी विवाह बन्धनमा बाँधिने छौं, त्यसैले कुनै शंका नै थिएन । सबैकुरा समयसँगै हुँदै गयो ।'
यस्तै आफूलाई असल मान्छे बनाउन ठूलो भूमिका खेलेको भन्दै विराटले अनुष्कालाई धन्यवाद समेत दिए ।
'सँधै म अहिलेकाे विराट थिइन । म विश्वास गर्छु कि सबै जनाले मलाई विराट कोहली बनाउन सहयोग गर्नु भएको छ तर व्यक्तिगत कसैले धेरै गरेको अनुष्काले नै हो,' उनले थपे, 'मेरो लागि, अनुष्कालाई भेट्दाकाे पल मैले सोचे कि यो सबै मेरो लागि मात्र हैन । जीवन भनेको अरुलाई समेत हेर्नुपर्छ र जिउनु पर्छ ।'