एजेन्सी । भारतको मुम्बईस्थित वानखडे क्रिकेट रंगशालामा क्वारेन्टाइन बनाउन मुम्बई क्रिकेट एसोसियसनलाई प्रस्ताव गरिएको छ ।
वृहानमुम्बई महानगर कर्पोरेसनले मुम्बई क्रिकेट एसोसियसनलाई वानखडे क्रिकेट रंगशालामा क्वारेन्टाइन बनाउनको लागि अनुमति दिन अनुरोध गरेको हो ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस भारतमा समेत तीव्र गतिमा फैलिरहेको छ । भारतमा करिब ९० हजार संक्रमित रहदा २ हजार बढीको ज्यान गईसकेको छ ।
भारतमा कोरोना तीव्र रुपमा फैलीरहेपछि कर्पोरेसनले वानखडे क्रिकेट रंगशालामा क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको हो ।
भारतको मुख्य शहर मुम्बईमा समेत कोरोनाको संक्रमण बढी रहेको छ ।
कोरोनाको संक्रमण रोक्न भारतमा मे १७ सम्म लकडाउन गरिएको छ । भारतमा लकडाउन करिब २ महिना देखि जारी छ ।
मुम्बईमा कोरोना संक्रमित दैनिक बढ्न थालेपछि कर्पोरेसनका सहायक कमिस्नरले एसोसियसनलाई कोरोना संक्रमण देखिएको बिरामी र स्टाफलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न अनुमति दिन पत्राचार गरिएको बताए ।
'रंगशाला आकस्मिक स्टाफ र पहिले संक्रमित भएका र क्वारेन्टाइनमा बस्न पर्ने बिरामीको लागि उपयोग गरिने छ,' सहायक कमिस्नर चन्द्र जादबले भनेका छन् ।
यस प्रस्तावमा एसोसियसन सकारात्मक रहेको बताईएको छ ।
यस्तै वानखडे रंगशाला मानव बस्ती नजिकै रहेको कारण सरकारलाई त्यहाँ नजिक बस्ने जनताको सुरक्षालाई समेत ध्यानमा राख्नु अनुरोध गरिएको छ ।
रंगशलामा बसेका व्यक्तिबाट बस्तीमा संक्रमण फैलने ठूलो सम्भावना रहेको भन्दै नजिकैमा मानिसहरू त्रसित भएका छन् ।
'हाम्रो लागि डराउनु पर्ने समय आएको छ । हामीलाई पनि भाइरस सर्छ भनेर त्रसित छौं,' रंगशाला नजिकै बस्ने एक युवकले भने, 'वृहानमुम्बई र सरकारले हाम्रो सुरक्षाको समेत चिन्ता गर्नु पर्छ, ध्यान दिनु पर्छ ।'