एजेन्सी । इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान केभिन पिटरसनले अष्ट्रेलियाका स्टिभ स्मिथ भने भारतका विराट कोहली उत्कृष्ट ब्याट्सम्यान भएको बताएका छन् ।
कोहलीमा जस्तो परिस्थतिमा समेत भारतलाई जिताउने क्षमता भएको कारण स्मिथ भन्दा उत्कृष्ट भएको पिटरसनले बताए ।
'विराट कोहली । कीर्तिमानी रन पछ्याएर भारतलाई जिताउछन् । जस्तो सुकै दबाबमा पनि लगातार खेलिरहन्छ । स्मिथ उनको नजिक पनि आउदैनन्,' पिटरसनले आईपीएलका पूर्व सहकर्मीबारे भने ।
पिटरसनले कोहलीसँग रोयल च्यालेन्जर्स बैंगलोरबाट सँगै आईपीएल खेलेका थिए ।
विश्व क्रिकेटले भारतका कप्तान कोहली र अष्ट्रेलियाका पूर्व कप्तान स्मिथ दुवैलाई उत्कृष्ट ब्याट्सम्यानको रुपमा हेर्ने गर्छ ।
यस्तै इंग्ल्यान्डका पूर्व कप्तान पिटरसनले स्मिथ टेष्टमा भने कोहली भन्दा उत्कृष्ट भएको समेत बताए ।
आईसीसीको टेष्ट खेलाडीको ब्याटिङ वरियतामा स्मिथ शीर्ष स्थानमा रहेका छन् । एकदिवसीयको वरीयतामा शीर्ष स्थानमा रहेका कोहली टेष्टमा भने दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै पिटरसनले सचिन तेन्दुलकर महान खेलाडी भएपनि आफ्नो नजरमा विराट उत्कृष्ट भएको बताए ।