एजेन्सी । भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी उत्कृष्ट क्रिकेटर हुन् ।
भारत र आईपीएल टिम चेन्नई सुपर किङ्समा धोनीले आफुलाई अब्बल खेलाडीको रुपमा स्थापित गरेका छन् ।
धोनी आफ्नो आक्रामक ब्याटिङ शैली र शान्त कप्तानी स्वभावले विश्वकै उत्कृष्ट खेलाडीको रुपमा उभिएका छन् ।
दक्षिण अफ्रिकाका पूर्व कप्तान फाप डु प्लेसिस समेत धोनीको ठुलो समर्थक हुन् । उनले सन् २०११ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्दै आएका छन् ।
प्लेसिसका अनुसार क्रिकेट करियरमा धोनी भन्दा राम्रो फिनिसरसँग खेलेका छैनन् ।
धोनीले जस्तो सुकै परिस्थितिमा आफूलाई शान्त राख्ने स्वभाव र आफ्नो टिमलाई जिताउन खेल्ने भूमिकाबाट निकै प्रभावित भएको प्लेसिस बताउँछन् ।
'धोनी निकै शान्त छन् । मैले धोनी भन्दा राम्रो फिनिसरसँग खेलेको छैन । उनलाई फिल्डमा नजिकैबाट नियाल्नु यादगार हुन्छ,' प्लेसिसले भने, 'यदि कोही धोनी हुन खोज्छ भने ऊ कहिल्यै सफल हुँदैन । धोनीलाई आफ्नो खेल राम्रोसँग थाहा छ र बलरलाई त्यहिँ अनुसार सट खेल्ने गर्छन् ।'
यस्तै प्लेसिसले धोनीबाट लिडरसिपबारे धेरै कुरा सिकेको बताए । धोनीसँग चतुर दिमाग भएको कारण उनी जस्तो परिस्थितमा समेत सहि निर्णय लिने गरेकाले क्रिकेटमा सफल भएको प्लेसिसले बताए ।
प्लेसिसले चेन्नईबाट आईपीएल खेल्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको समेत बताए ।
'चेन्नईबाट यात्रा सुरु पाएकोमा म भाग्यमानी छु किनकि मैले लिडरसिपबारे धोनीबाट धेरै कुरा सिक्ने मौका पाएको छु, ' उनले थपे, 'धोनी र स्टेफिन फ्लेमिङबाट धेरै सिक्ने कोसिस गरे । किनकि दुवै उत्कृष्ट कप्तान हुन् ।'