एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले कोरोना भाईरसको महामारीका बीच राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।
बीसीसीआईले महामारीका बीच क्रिकेट सुरु गर्ने उद्धेश्य अनुरुप आफ्ना खेलाडीलाई आईसोलेसन राख्ने गरि शिविर आयोजना गर्ने तयारी गरेको हो ।
बोर्डले दुई महिनाभित्र खेलाडी तथा स्टाफलाई आफ्नो अभ्यास सुरु गर्न मिल्ने गरि सम्भावित स्थानको खोजी अघि बढाएको छ ।
टाईम्स अफ ईन्डियाको रिपोर्ट अनुसार बेङ्गलोरस्थित नेश्नल क्रिकेट एकेडेमी (एनसीए)मा अभ्यासका लागि सबै सुविधा उपलब्ध छ । तर कोरोना भाईरस संक्रमणको प्रभावमा कमी नआएका कारण प्रक्रिया अघि नबढेको हो ।
बोर्डले खेलाडी तथा प्रशिक्षणमा सहभागी हुने स्टाफलाई स्वच्छ र सुरक्षित वातावरणमा राख्न चाहेको छ । बीसीसीआईले केही वैकल्पिक स्थानको समेत छलफल गरिरहेको छ ।
बीसीसीआईका एक अधिकारीले भने, 'हाम्रो प्राथमिकता खेलाडीको सुरक्षा हो । हामीले आवश्यक सामानको प्रबन्ध गर्नपर्छ र बेङ्गलोरको सुरक्षाको समेत जाँच गर्नपर्छ । यदी अवस्था ठिक देखिएन भने अन्य क्षेत्रको खोजी गर्नेछौ । सिनियर खेलाडीलाई स्थानीय मैदानमा खेल्ने विकल्प छ । हामी खेलाडी तथा टिम व्यवस्थापकसंग लगातार सम्पर्कमा छौ ।'
बीसीसीआईका कोषाध्यक्ष अरुण धूमलले यसअघि खेलाडीलाई आउटडोर अभ्यासमा पठाउन सकिने बताएका थिए । तर उनले यस अवस्थामा खेलाडीलाई यात्रामा निकाल्न नसकिने उल्लेख गरेका थिए ।
खेलाडीहरु अहिले खेलाडी ट्रेनरको रेखदेखमा एप्लिकेशन अनुसार अभ्यास गरिरहेका छन् । हरेक खेलाडीलाई बेग्ला बेग्ला फिटनेस तरिका निर्धारण गरिएको छ ।
कोरोनाका कारण दक्षिण एसियाली राष्ट्र भारत सबैभन्दा बढी प्रभावित देखिएको छ । कोरोनाकै कारण आईपीएल लगायतका ठुला प्रतियोगिता रद्ध भईसकेको छन् ।