एजेन्सी । क्रिकेट वेष्ट इण्डिजका प्रमुख कार्यकारी जोनी ग्राभेले खेलाडीहरु इंग्ल्यान्ड भ्रमण गर्ने विषयमा 'नर्भस' भएको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै जोनीले कोरोना भाईरसको महामारीपछि खेलाडीहरु इंग्ल्यान्ड भ्रमणका लागि निकै नर्भस भएको बताएका हुन् ।
वेष्ट इण्डिज क्रिकेट टिमले यस समरमा इंग्ल्यान्ड भ्रमण गर्ने तालिका रहेको छ ।
तर, इंग्ल्यान्डमा कोरोनाको महामारी नियन्त्रण बाहिर गएको कारण वेष्ट इण्डिजका खेलाडी भ्रमण गर्न डराएको जोनीले बताए ।
'त्यो भ्रमणमा खेलाडीलाई जबरजस्ती हुन्न,' जोनीले भने, 'यदि तपाई बसेको देशमा ६०/७० हजार जनसंख्या हुन्छ । बेलायतमा ३० हजार बढीको मृत्यु हुनु भनेको ठुलो संख्या हो ।'
वेष्ट इण्डिज र इंग्ल्यान्डबीच तीन खेलको टेष्ट सिरिज जुन ४ बाट सुरु हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण इंग्ल्यान्डका जुलाईसम्म क्रिकेट गतिविधि नगर्ने इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले निर्णय गरेको थियो ।
जुलाईपछि वेष्ट इण्डिजको इंग्ल्यान्ड भ्रमण हुने बताईएको छ । वेष्ट इण्डिजले भने इंग्ल्यान्डलाई आफ्नो देशमा भ्रमणका लागि निम्तो दिदै आएको छ ।
यस्तै प्रमुख कार्यकारीले खेलाडीको सुरक्षा नै बोर्डको पहिलो प्राथमिकता भएको बताए ।
'हामी सबै भन्दा पहिले स्पष्ट हुनुपर्दछ कि यो सुरक्षित छ । ईसीबीले सुरक्षित क्रिकेट गर्न बेलायत सरकारको स्वीकृति लिन लामो यात्रा गरिसकेको छ,' उनले भने ।