एजेन्सी । एक समय युवराज सिंहलाई मोटो रकममा इन्डियन प्रिमियर लिग (आईपीएल) टिमले बोली लगाउने गर्थे ।
सन् २०१४ को अक्सनमा रोयल च्यालेन्जर्स बैंगलोरले युवराजलाई १४ करोड रुपैयाँको बोली लगाएको थियो । त्यो समय कुनै पनि खेलाडीले पाएको सर्वाधिक रकम थियो । यद्यपि उनलाई अर्को सिजनमा रिलिज गरिएको थियो ।
अर्को वर्षको अक्सनमा बायाँ हाते यी ब्याट्सम्यानलाई दिल्ली डेयरडेभिल्सले कीर्तिमानी १६ करोडमा किनेको थियो । अक्सनमा मोटो मूल्य पाउने गरेपनि युवराज एकै टिममा लामो समयसम्म रहन सकेनन् ।
सुरुवाती तीन वर्ष किंग्स इलाभेन पंजाबबाट आईपीएल खेलेका युवराजले सन् २०११ र २०१३ मा पुने वारियर्सबाट खेलेका थिए ।
त्यसपछि युवराजले थप ४ टिमबाट आईपीएल खेलिसकेका छन् । सन् २०१४ मा बैंगलोर, २०१५ मा दिल्ली २०१६/१७ मा सनराइज हैदराबाद र सन् २०१९ मा मुम्बई इण्डियन्सबाट खेलेका थिए ।
हालै एक अन्तर्वार्तामा आक्रमक ब्याट्सम्यान युवराजले एकै टिमबाट लामो समय खेल्न नपाएको दुखेसो पोखेका छन् ।
'मैले कहिल्यै ३-४ वर्ष एकै टिमबाट खेल्ने मौका पाइन् । विराट, धोनी, रोहितले एकै टिमबाट लामो समय देखि खेल्दै आएका छन्,' युवराजले भने, 'एउटा जग त पाएँ तर स्थाई घर कहिल्यै पाउन सकिनँ ।'
रोहित शर्मा सन् २०११ बाट मुम्बईबाट आईपीएल खेल्दै आएका छन् । विराट कोहलीले हालसम्म बैंगलोरबाट मात्र आईपीएल खेलेका छन् । विराट आईपीएल इतिहासमा एक टिमबाट मात्र सबै प्रतियोगिता खेल्ने एकल खेलाडी हुन् ।
यस्तै धोनीले २ वर्ष राइजिङ पुने सुपर जाइन्टबाट आईपीएल खेल्दा अन्य सबै संस्करण चेन्नई सुपर किङ्गसबाट खेल्दै आएका छन् । चेन्नई २ वर्ष लागि आईपीएलबाट निलम्बन हुँदा धोनीले पुनेबाट खेलेका थिए ।