एजेन्सी । ग्लोबल आईकन सन्दीप लामिछानेलाई अन्तराष्ट्रिय क्रिकेटमा चिनाउने काम अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले गरे ।
सन् २०१६ यू–१९ विश्वकपमा सनसनीपूर्ण बलिङ गरेका सन्दिपलाई हङकङमा टी–ट्वान्टी प्रतियोगिता खेल्न प्रस्ताव आएपछि विश्व विजेता कप्तान क्लार्क र सन्दीपको पहिलो भेट हङकङमा भएको थियो ।
दुई खेलाडीको भेट गराउने मुख्य भूमिका हङकङ क्रिकेटका सिईओ टीम कटलरले खेलेका थिए ।
हालै एक पोडकास्टमा कटलरले सन्दीप र क्लार्कको पहिलो भेटमा भएको एक रोचक कुराको खुलासा गरेका छन् ।
सन्दीपले बलिङ गरेको पहिलो पटक देख्ने बित्तीकै क्लार्कले उनलाई अष्ट्रेलियाकाे राष्ट्रिय टिमबाट खेलाउन चाहेको कटलरले खुलासा गरेका छन् ।
’जब क्लार्कले सन्दीपलाई पहिलो पटक हङकङमा बलिङ गरेको देखे । उनको पहिलो सोचनै सन्दीपलाई अष्ट्रेलियाको राष्ट्रिय टिममा कसरी खेलाउने सकिन्छ भन्ने थियो ।’ हिट एण्ड मिस पोडकास्टमा कटलरले भनेका छन् ।
क्लार्कले सन्दीपको बसाईसराइ गरी अष्ट्रेलिया लैजाने समेत सोचेको कटलरले बताएका छन् ।
सन्दीपबाट निकै प्रभावित भएका क्लार्कले केही समयपछि उनलाई अष्ट्रेलिया बोलाएर आफ्नो एकेडेमीबाट खेलाएका थिए । अष्ट्रेलियाका मिडियामा चिनाएका थिए ।
हाल सन्दीप विश्वका उत्कृष्ट सबै टी–ट्वान्टी प्रतियोगिता खेलिसकेका छन् । सन्दीप विश्वका एक उत्कृष्ट टी–ट्वान्टी लेग स्पिनर बलरका रुपमा स्थापित छन् ।
भारतको इन्डियन प्रिमियर लिगदेखि अष्ट्रेलियाको बिग बास क्रिकेट खेल्दै सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालबाट अन्तराष्ट्रिय फ्रेन्चाइज क्रिकेट खेल्ने सन्दीप पहिलो नेपाली हुन् ।