एजेन्सी। भारतका पूर्व स्पिनर प्रज्ञान ओझाले ब्याट्सम्यान रोहित शर्मा बलरहरुका कप्तान भएको बताएका छन् ।
भारतका उपकप्तान समेत रहेका रोहित बलरहरुलाई बुझ्ने बताउँदै ओझाले उनलाई बलर कप्तानको संज्ञा दिएका हुन् ।
'रोहित बलर कप्तान हुन् । उनी बलरहरुलाई बुझ्छन् । यदि तपाई प्रतियोगितामा बलरलाई ख्याल गर्नु हुन्छ त्यसले केहि नतिजा दिन्छ,' ओझाले भने, 'महेन्द्र सिंह धोनी र रोहित सफल हुनुको कारण उनीहरु बलरको ख्याल गर्थे ।'
यस्तै ओझाले टेष्ट र एकदिवसीयमा कप्तान विराट कोहलीले पनि बलरको ख्याल गर्ने बताए ।
'एकदिवसीय र टेष्टमा विराटको त्यस्तै अवस्था छ । यदि तपाई बलरलाई ख्याल गर्नुहुन्छ केहि सहयोग हुन्छ । बलरले २० विकेट लिन्छन् र खेल जितिन्छ,' उनले भने ।
ओझाले रोहितसँग डेकन चार्जर्सबाट सन् २००८ देखि १० सम्मको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका थिए । रोहित सन् १०११ मा मुम्बई इण्डियन्स आएका थिए । त्यसको एक वर्षपछि ओझा मुम्बईमा सामेल भएका थिए ।
यस्तै ओझाले रोहित बिन्दास खेलाडी भएको कारण सफल भएको समेत बताए ।
'रोहित धेरै बिन्दास खेलाडी हुन्,' ओझाले भने, 'कप्तानको रुपमा समेत बिन्दास र निडर खेलाडी हुन् । उनी कुनै कुराको डर मान्दैनन् ।'
रोहित आईपीएलमा सर्वाधिक सफल कप्तान मानिन्छ । उनले मुम्बईबाट चार सिजन उपाधि जितेका छन् ।
रोहितले सन् २०१३, १५, १७ र २०१९ को सिजन मुम्बईलाई च्याम्पियन बनाएका थिए ।
ओझाले भारतका लागि २४ टेष्ट, १६ एकदिवसीय र ६ टी-ट्वान्टी खेलेका थिए ।