एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले बन्द रंगशालामा क्रिकेट खेलाउने योजनाको समर्थन गरेका छन् ।
स्टार स्पोर्ट्सको एक कार्यक्रममा बोल्दै कोहलीले अहिलेको अवस्थामा खेलाडी मैदान फर्कन चाहेको र दर्शक बिना खेलाउने योजनामा आफ्नो समर्थन रहेको बताएका छन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वको क्रिकेट ठप्प रहेको छ । तर, क्रिकेटका निकायले दर्शक बिना क्रिकेट खेलाउने तयारी गरिरहेका छन् ।
'यो एकदम सम्भावित अवस्था हो । यो हुन सक्छ । इमान्दार भएर भन्दा मलाई थाहा छैन कि सबैले कसरी लिन्छन् । किनकि हामी धेरै जोशिलो प्रशंसकहरूको अगाडी खेल्ने बानी भएका छौं,' कोहलीले भने ।
कोरोनाको कारण भारतको चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । यस्तै भारतले खेल्ने थुप्रै सिरिज अन्योलमा रहेको छ ।
तर, कोहलीले क्रिकेट फर्कनेमा आफु आशावादी भएको बताए ।
'म आफैलाई सकारात्मक र खुसी राख्दै छु र म खेलमा फर्कने प्रतिक्षामा छु । मलाई थाहा हुन्छ कि हामी राम्रो स्थितिमा गईरहेका छौँ,' उनले भने ।
पछिल्लो समय फुटबलको लिगहरु समेत बन्द रंगाशालामा गराउने तयारी भएको छ । दक्षिण कोरियाको शीर्ष डिभिजनको लिग बन्द रंगशालामा सुरु भएको छ ।