एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले ब्याटिङ गर्दा आफुले सधै दबाब महसुस गर्ने गरेको खुलासा गरेका छन् ।
आईपीएल टिम चेन्नईका कप्तान समेत रहेका धोनीले खेलको दौरान विपक्षी टिमविरुद्ध ब्याटिङ गर्दा दबाबमा हुने गरेको खुलासा गरेका हुन् ।
एमफोर नामक वेबसाइडसँग कुरा गर्दै धोनीले ब्याटिङ गर्दा आफुमा मानसिक दबाब हुने गरेको बताएका हुन् ।
'जब म ब्याटिङ गर्न जान्छु । सुरुवातको २/१० बलमा मेरो मुटुको धड्कन बढ्थ्यो । म दबाब महसुस गर्थे,' धोनीले भने, 'त्यसलाई कसरी सामना गर्ने भनेर डर लाग्थ्यो । मलाई लाग्छ सबैजना त्यसै महसुस गर्छन् ।'
धोनीलाई टी-ट्वान्टीमा विस्फोटक ब्याट्सम्यानको रुपमा लिने गरिन्छ । धोनी भारत र चेन्नईका लागि सफल कप्तान हुन् ।
धोनीले सबै फर्म्याटमा ३ सय ३२ खेल खेलिसकेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् । धोनीले आफ्नो कप्तानीमा २ सय एकदिवसीय खेलमा भारतलाई १ सय १० खेल जिताएका छन् ।
भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाउन सफल धोनीले चेन्नई सुपर किंग्सलाई तीन पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि दिलाएका छन् ।
भारतले सन् २०१३ को च्याम्पियन्स ट्रफी जित्दा धोनी कप्तान थिए ।
तर, गत वर्ष भएको विश्वकपपछि धोनीले क्रिकेट खेलेको छैनन् । धोनी यस सिजनको आईपीएलबाट अन्तराष्ट्रिय क्रिकेटमा फर्किने तयारीमा रहेका थिए ।
तर, कोरोना भाईरसको महामारीको कारण आईपीएल अनिश्चितकालका लागि स्थगित भईसकेको छ ।