एजेन्सी । भारतीय क्रिकेटर शान्ताकुमारन श्रीसंत उत्कृष्ट बलर हुन् ।
तर, सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।
फास्ट बलर श्रीसंत सेप्टेम्बरमा प्रतिबन्ध सकिएपछि क्रिकेटमा पुनरागमन गर्ने तयारीमा छन् ।
हालै उनले एक अन्तर्वार्तामा आफ्नो प्रतिबन्धबारे दुःख पोखेका छन् ।
कोरोना भाईरसको महामारीपछिको लकडाउनको समय कसरी बिताउँदै हुनुहुन्छ भन्ने प्रश्नमा उनले आफू विगत ६ वर्ष ६ महिनाबाट लकडाउनमा रहेको बताए ।
'हेर्नुस, सबैजना गत महिनाबाट लकडाउनमा छन् तर म ६ वर्ष ६ महिनाबाट व्यवसायिक रुपमा लकडाउनमा छु,' श्रीसंतले भने, 'यस समय म कामसँग सम्बन्धित फिल्म, टिभी शो हेर्ने गर्छु । तर जुन खेललाई मैले माया गर्छु त्यो म बाट टाढा लगियो । यो म संग थिएन ।'
श्रीसंतले क्रिकेटबाट टाढा हुँदा केही फिल्ममा अभिनय गरेका थिए । यस्तै एक टेलिभिजन शो बिगबोसमा उपविजेता बनेका थिए ।
यद्दपी श्रीसंतले इन्डोर हलमा क्रिकेट खेल्न मिल्ने सुविधा बनाएकाे र आफूले क्रिकेट मैदान नगई हलमा क्रिकेट खेल्ने गरेको समेत बताए ।
'म भाग्यानी रहेंकि जब मलाई मैदानले योग्य ठानेन म आफैले घरमा इन्डोर सुविधा बनाएर क्रिकेट खेल्ने गर्थें । म यसमा धेरै समय बिताउने गर्थें,' श्रीसंतले थपे ।
आफ्नो खराब समयमा साथ दिएको कारण श्रीसंतले आफ्नो परिवारलाई धन्यवाद समेत दिए ।