एजेन्सी । भारतीय क्रिकेटर अम्बाती रायडुले इण्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो मनपर्ने टिम चेन्नई सुपर किङ्स भएको बताएका छन् ।
कोरोना भाईरसको कारण सरकारले लकडाउन लगाएसँगै घरमै रहेका रायडुले सामाजिक संजालबाट चेन्नई मनपर्ने टिम भएको बताएका हुन् ।
'चेन्नईका समर्थकहरु दक्षिण भारतीयहरू जस्तै भावनात्मक हुन्छन् । उनीहरूसँग ज्ञान छ। भारतको लागि खेल्दा पनि हामी त्यस्तो समर्थक देख्दैनौं,' इन्स्टाग्राम लाईभमा रायडुले भने ।
सन् २०१८ को सिजनबाट रायडुले चेन्नईबाट आईपीएल खेल्दै आएका छन् । त्यसअघि उनले मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबाट खेलेका थिए ।
उनले पूर्व टिम मुम्बई र चेन्नईबीचको फरक समेत बताए ।
'चेन्नई एकदम शान्त छ । उनीहरु खेलाडीको क्षमतामा विश्वास गर्छन् । जबकी मुम्बईमा खेलाडीलाई आफ्नो भूमिकामा खेल्न सेट अप गरिएको हुन्छ,' उनले भने ।
रायडुले आईपीएलमा १ सय ४७ खेल खेल्दै ३ हजार ३ सय रन बनाएका छन् ।