काठमाडौं । कोरोना भाईरसको महामारीको कारण सरकारले लकडाउन लगाएसँगै खेलाडीहरु घरमै सिमित भएका छन् ।
अत्यावश्यक बाहेक खेलाडीहरु बाहिर निस्किएका छैनन् ।
हरेक दिन मैदानमा देखिने खेलाडीहरुले प्रशिक्षण गर्न र खेल्न पाएका छैनन् ।
मैदानमा प्रशिक्षण र खेल्न नपाउँदा खेलाडीहरु छटपटीएका छन् । उनीहरु मैदानलाई धेरै मिस गरिरहेका छन् ।
लकडाउनको कारण नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा विकेटकिपर विनोद भण्डारी क्रिकेटलाई खुबै मिस गरिरहेका छन् ।
ठुला सट प्रहार गर्न माहिर विनोद मैदानमा ठुलो सट प्रहार गर्न नपाएर छटपटीएका छन् ।
लकडाउन खुल्नसाथ मैदानमा गएर ठूलो सट प्रहार गर्ने विनोदको योजना छ ।
एक महिना यताको लकडाउनले घरैमा सामान्य अभ्यास गरेपनि लामो सट मिस गरिरहेको विनोदले बताए ।
'लकडाउन खुलेकाे पहिलो दिनमा नै ग्राउण्ड गएर फुल स्विङ गर्दै ब्याटिङ गर्ने मन छ । त्याे एकदम मिस भईरहेकोछ,' विनोदले भने, 'लकडाउन खुल्ने बित्तिकै खेल खेल्न मन छ।'
लकडाउनको कारण लामो समयबाट अभ्यास समेत गर्न नपाएका खेलाडीलाई लय गुम्ने ठूलो चिन्ता परेको छ । उनीहरू फिटनेसको चिन्ता व्यक्त गर्दै आएका छन् ।
त्यसैले प्राय खेलाडी घरैमा उपलब्ध सामाग्रीको उपयोग गर्दै आफूलाई फिट राख्ने प्रयास गरिरहेका छन् ।
राष्ट्रिय टिमका फिनिसर विनोद समेत घरैमा अभ्यास गरिरहेका छन् ।
'अहिले घरमा भएपनि लगातार अभ्यास गरिरहेको छु,' विनोदले भने, 'मेराे घर अलि खुला ठाउँमा पनि छ त्यसैले घर अगाडी खेल्न मिल्ने गरि ठाउँ बनाएकाे छु ।'
विनोदले हरेक दिन दुई समय अभ्यास गरिरहेको बताए ।
'बिहान फिटनेस र दौड गर्छु । नास्ता पछि ब्याटिङ गर्छु । घरमा दाइ पनि खेल्नुहुन्छ त्यसैले ब्याटिङमा सहयोग भईरहेको छ । दिउँसो आराम गरेर साँझ फेरि ब्याटिङ गर्छु' विनोदले दैनिकी सुनाए ।
लकडाउनले खेल क्षेत्र र खेलाडीमा ठूलो असर परेको समेत विनोद बताउँछन् ।
'लकडाउनले ठूलो असर गरेकाे छ । खेल भएकाे छैन । दैनिक प्रशिक्षण हुन्थ्यो त्याे हुन पाएकाे छैन । सबै तरिकाबाट खेलाडीलाई धेरै असर पारेकाे छ,' विनोदले भने ।
तर, अहिलेको अवस्थामा लकडाउन आवश्यक रहेको विनोदको बुझाई छ ।
'खेल क्षेत्रमा असर परेपनि लकडाउन अहिलेकाे समयमा अत्यावश्यक छ,' उनले भने, 'त्यैसैले घरैमा बसेर त्यसको पालना गरीरहेकाे छु ।'